अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले सिरियाको बाबा आम्र सहरमा सहायता सुरु गरेको छ । होम्सपछि सबैभन्दा बढी आन्दोलन पीडित रहेकाले आन्दोलनका कारण शरणार्थी बनेका नागरिकलाई सहयोय गर्न शुरु गरेको रेडक्रसले जनाएको छ । मानवीय सहायता स्वरूप केही राहत सामग्री वितरणको काम सुरु गरेको आई सी आर सीका प्रवक्ता सालेह दाबाकेले जानकारी दिएका छन । विगत लामो समयदेखि सिरियामा जारी आन्दोलनका क्रममा शरणार्थी बनेका ती नागरिकका लागि खाद्यान्न सहयोग गरिएको छ । बाबा आम्र सहरमा जारी आन्दोलनबाट पीडित बनेका नागरिकहरू शरणार्थीका रूपमा अबेलमा शरण लिइरहेका छन् ।
यसैबीच सिरियाली सरकारले पत्रकारहरूलाई नै तारो बनाएकोमा फ्रान्सेली पत्रकारहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विदेशी पत्रकारहरूको हत्याको विषयमा सिरियाली सरकारले कडा विरोध पनि गरेका छन् । सिरियाली शासकको सिकार बनेकी बेलायतको सन्डे टाइम्सकी पत्रकार मेरी कोल्भिन र फ्रान्सेली स्वतन्त्र पत्रकार रेमी ओक्लिकको शव हिजो पेरिस ल्याइएपछि त्यहाँका पत्रकारहरूले उक्त प्रतिक्रिया दिएका हुन् । गत फेब्रुअरी महिनाको २२ तारिखमा काम गरिरहेको अवस्थामा ती दुई पत्रकारहरुको हत्या भएको थियो ।