www.nepalqataronline.com Saturday, 18th May 2013
 
Ads
Article
अपराग प्रेम

Posted on: 2010-02-01 09:52:47
रवि भट्ट [ रवि भट्ट "रोषी", दोहा, कतार ]

बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फ नजर केन्द्रित गर्दै सोध्यो, अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधले, ईष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न सकिन्छ ? म बोल्दै गएँ । हो इन्सपेक्टर साहेब मैले नै भाष्करको हत्या गरेकी हुँ । उसको हत्या गरेर मलाई एकरत्ति पनि आत्मग्लानी छैन । उसको हत्या गरेर मैले मानसिक तनावबाट मुक्त भएकी छु । अव मैले पश्चात्ताप गर्नुको पनि कुनै अर्थ रहदैन । किनकी हत्या गर्नु पहिले नै मलाई राम्रो संग ज्ञान थियो कि हत्या गरीसके पछि मैले कुन महल अन्तर्गतको सजायँ भोग्नु पर्छ भनेर । म बोल्दै गईरहेँ । मेरो सम्मुखमा बसेको हवल्दार बिल्लाधारी कारिन्दाले बयान लेख्दै गइरह्यो ।
२०६१ सालमा बहिनी आयूषा र मैले गाउँकै भीमोदय माध्यमिक बिद्यालय बाट संगै प्रवेशिका परिक्षा उत्तीर्ण गर्यौँ । त्यसपछिको स्तरीय शिक्षार्जन हेतु बहिनी आयूषा र म काठमाण्डौँ आयौँ । आयूषाले कमर्स रोजी भने मैले आर्टस्मा अध्ययन जारी राखेँ । काठमाण्डौँमा हामी दिदी बहिनी डेराको कोठामा संगै रहन्थ्यौँ । दोलखाको रमणीय प्राकृतिक उच्छवासमा स्वतन्त्र उडान भरेर रमेका हामी २ चरी अत्यासलाग्दो घना मानव कोलाहल र फुङ्ग उडेको कृत्रिमतालाई अँचेटेर सिमेन्ट नै सिमेन्टको जंगललाई आफ्नो बिशेषता बनाएर ठडिएको काठमाण्डौँलाई अङ्गिकार गरी बस्नुपर्दा मानसिक अस्वस्थताको अनुभूत गरिरहनु पर्यो । खैर हामीमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य भएको हुँदा प्रतिकूल शहरी सास्ती खेपेर अध्ययनलाई जारी नै राख्यौँ ।
अस्मिता, तिम्रो फोन, मम्मीले दोलखा बाट गर्नु भएको झट्ट आउ त । भाष्करले कम्मर देखिको माथिल्लो सवै भाग स्वात्त ढोकाको हाताबाट घुसारेर मलाई पुकार्दै भन्यो । धेरै समयको अन्तराल पछि घरबाट फोन आएको थियो । म हतारिदै हुर्रिएर भाष्करको कोठामा पुगेँ । फोन  भाष्करले आफ्नै कोठामा राखेको थियो । भाष्कर अर्थात् मेरो घरबेटीको छोरो । बुवा सानैमा बितेको रे । आमाको एकल लालनपालनमा हुर्किएको एक्लो छोरो । एक्लो छोरो भएर पनि सौम्य र शालीन हँसमुख केटो । एक्लो छोरो हुनेहरु बाबुआमाको लाहाडे मायाले हठी हुन्छन् भन्ने आमकथन अनुरुपको बिपरीत भंगीको बिनोदी स्वभावको केटो । म फोनमा व्यस्त हुँदा उसले मलाई एकटंकार संग घोरिएर हेरिरह्यो । शायद यो उस भित्र प्रवाहित तारुण्य उद्वेगको प्रभाव होला । उसको यस्तो कृयाकलामा म मौनता साँधेर बसिदिन्थेँ । एक यौवनाको आकर्षक रुपसी सौन्दर्यतामा बिपरीतलिङ्गीको श्पर्शरहित रुपपान प्रति घोर आपत्ति जनाउनु पनि त मिलेन नि । मेरो सुष्मासौन्दर्यले उ भुतक्क भए पनि उसले हामी दुवै दिदी बहिनीलाई पारिवारिक सदस्यको जस्तो व्यवहार गर्छ भने किन उ प्रति अनर्गल कुरा मनमा पालौँ ? उसले बिठ्याई नगरेपछि मैले छुच्याईं पनि देखाउनु भएन नि । म चुप लाग्नुको कारण यहि थियो । आयूषा संग त उ धेरै नै झ्याम्मिएर कुरा गर्ने गथ्र्यो । भाष्करको यस्तो व्यवहारले लाग्थ्यो कि आयूषा उसकै सहोदर बहिनी हो । एकदिन आयूषा कलेजबाट आउन ढिला गरेपछि भाष्करले उसको सात्तो खाएको थियो । आयूषा ढिलो आयो भनेर आमालाई समेत कुरा लगाउन पुगेको थियो । अव आइन्दा ढिलो आएमा कारण देखाउ उर्दी जारी गरेको थियो । आयूषा प्रतिको यस्तो रुखो व्यवहारले मलाई किञ्चित दःुखी बनाएन । बहिनी प्रति उस्ले देखाएको अभिभावकत्वले म भित्र भित्र गद्गद् भएकी थिएँ । आयूषा पनि भाष्करको आवाज सुनेपछि थर्कमान हुन्थी अनि भाष्करको आमाको ढाडमा लपक्क टाँसिएर शरणागत भईदिन्थी । राम्रो मुखले सम्झाउन सक्दैनस् ? कत्ति डस्छस् बिचरीलाई । भाष्करको आमाले आयूषाको ओठ ढाकेर भाष्करलाई हकारेको देख्दा मेरो आँखा तत्क्षण जलमय भएका थिए । कत्रो ममत्व हामी माथि तिनीहरु आमा छोराको । कस्तो पुत्रीवत व्यवहार हामी दिदी बहिनी माथि भाष्करको आमाको । भाष्करको आमाको मायावी व्यवहारले पुलकित हुँदै आँसुको ढिक्का परेलीको डिलबाट गुड्दै गालाको फाँट हुँदै चिउँडोमा गएर खसौँ कि नखसौँ भएर टुपुल्किएर बसिरहन्थे । भाष्करको आमाले हामीलाई गर्ने मातृममत्वको व्यवहारले गर्दा दोलखामा रहनुहुने आमा बुवालाई पनि अलि अलि बिर्र्से जस्तै बनाएको थियो ।
एक दिन भाष्करले अजस्र साहस निकालेर म संग बैवाहिक प्रस्ताव राख्यो । उसको शालीन स्वभावले मलाई पनि आकर्षित नगरेको त कहाँ हो र ? मनमा उसको बिछट्टै माया भए पनि नारीलज्जाले गर्दा मैले उ सामु उसलाई मन पराएको कुरा भन्न सकिरहेकी थिइन । बैवाहिक प्रस्ताव संगसंगै मैले भाष्करलाई पनि एक शर्तनामामा अनुबन्ध गराएँ । मैले आफ्नो अध्ययनक्रम सकिएपछि मात्र बिवाह गर्ने कुरा जाहेर गरेँ । बिवाहपूर्व हामी बीचमा कुनै त्यस्तो शारीरिक सम्वन्ध हुने छैन । यत्ति सम्मकी हामी बिचको भावानात्मक सम्बन्धको बारेमा कसैले भनक समेत पाउने छैन । मेरो कुरामा भाष्करले सहर्षता जनाएर स्वीकृती पूर्वक मुन्टो हल्लायो । साँच्चै मैले भाष्करलाई कहिले बाट कसरी मन पराउन थालेछु , म आफैँलाई हेक्का थिएन । माया बस्न कुनै योजना र तयारी नै चाहिँदो रहेनछ । अनि कसैलाई मन पराउँदैमा माया निस्फिक्री संग पाईने चीज पनि होइन रहेछ । गम्भीर प्रकृतिको भाष्कर धेरै सुन्थ्यो र कम बोल्ने गथ्र्यो । कस्तो अचम्मको केटा, घरबाट बाहिर निस्किएर घुम्न गएको पनि कहिलै देख्दिन । साथीभाई पनि छैन कि के हो भनेको उसको । कत्ति घरमा नै कोच्चिएर टि.भि.मा आँखा जोतिरहेको होला । त्यो पनि किड्स च्यानलमा कार्टुन हेरेर दिन त सिनित्त निलीदिन्छ । एकामन त हुर्रिएर गएर उसको हातको रिमोट कन्ट्रोल खोसेर अरु नै च्यानल लगाएर छोडिदिउँ जस्तो लाग्थ्यो । उसको कोठामा मलाई पस्न वर्जित त थिएन तर मन छाडा गरेर ताराम्तार गईरहँदा उ मेरो रुपाकृतिमा सम्मोहित भएर ज्यानछाडा नबनोस् भन्ने मेरो ध्येय थियो । किनकी पूरुषबर्गहरु नारीको तुलनामा आफ्नो यौन उद्वेगलाई छेकथुन गरेर राख्न सक्ने क्षमता अति न्युन हुन्छ भन्ने ज्ञान मलाई राम्रो संग थियो । जब उसले वल्लो कोठाको डेरावालीलाई सिन्दुर पहिराएर दुलहीको दर्जा दिदै अर्को कोठामा सार्नेछ ,त्यसपछिका मेरा हर अंगप्रत्यंग संग रगमगिएर मधुमय आनन्दपान गर्ने उसको पे्रममय घडि त छँदैछ नि । बिवाहपूर्व उ सामु रतिरागी पात्रको रुपमा प्रस्तुत भएर बैँस पस्किएर पल्काउनु मेरो लागि पनि अलि संन्दिग्ध खतरा नै हुन्थ्यो । अर्थात् मसंगको चरमानन्दको शारीरिक सुखपान प्राप्ती पछि उसले पानको पिक झैँ नाङ्गो सडकमा बजारेर नाङ्गेझार पारीदिन सक्थ्यो । रछानमा फ्याँकिएको भातको जूठो सितोमा पदार्पित हुन सक्थेँ । उ संग संन्दिग्धता जताउनुको कारण यहि नै थियो । मेरो मनको एकान्तकुनामा उ प्रति अजस्र माया हुँदाहुँदै पनि बिवाहपूर्व शारीरिक सम्वन्धको बिषयमा सन्धिसर्पन गर्न नसक्ने उसलाई बताएकी थिएँ ।
ओहो हामी दिदी बहिनीले कत्ति छिट्टै ६ बर्ष काठमाण्डौँमा नै पढ्ने क्रममा सिनित्तै पारिसकिएछ । अव त भाष्करलाई भन्दा मलाई नै उ संग नजिकिन मन लागिरहेको थियो । छ्या ! तिमीलाई म कसरी भनुँ भाष्कर, अब तिमीले अपनाउने दिन आइसके भनेर । तिम्रो अर्धाङ्गिनी बनेर तिम्रो बाहुपाशमा बाँधिन म पो कता कता आत्तुरीरहेको छु त । केटा भएर पनि कस्तो लठेब्रो हो । अब त केहि बोल न भाष्कर । आजकल किन किन यस्तै हुण्डरी र मनोबादहरु ले मनलाई गिजोलिरहन्थ्यो । एक दिन उसले म संग शारीरिक सम्बन्ध राख्ने अनुनय गर्दा मैले नै उसलाई मायालु शैलीमा सम्झाएकी थिएँ । धत् भाष्कर, बिवाह अघि यो कसरी सम्भव छ भन त । बिवेकी मान्छे भएर पनि तिमीले यस्तो कुरा गर्न सुहाउँछ भन त । बिहे पछि त यो अस्मिता सदा सदाको लागि तिम्रै त हो नि भाष्कर । प्रबल कामबासनालाई सन्तुलनमा राखेर संयमी बन्न सिक प्लीज भन्दै उसको कपाल मुसार्दै उसलाई सम्झाएकी थिएँ । बिचरा भाष्करले त्यस क्षण निन्याउरो मुख लाउँदै उद्धिग्न ह्ृदय लिएर आफैँलाई थुप्थुपाएको थियो । अब त आफैँ गएर उसले र मैले गरेको बाचा कसमको कुटुरो खोलेर पुनस्मृति गराउनु पर्ने भयो । अनि हामी दुवै जना बिहे गर्ने पक्कापक्की भएपछि सबभन्दा पहिले मेरी प्यारी बहिनी आयूषालाई सरप्राइज दिनेछु । त्यसक्षण मेरो निर्णय सुनेर एकछिन त अवाक पर्दी हो आयूषा त । मेरो मुखमा एकतमास संग हेरेर दंगदास पर्दी हो । यत्तिका बर्ष सम्म हामी दिदी बहिनी संगै बस्दा पनि भाष्कर र मेरो अन्तरंग सम्बन्धको बारेमा छुसुक्क सम्म गन्ध थाहा नपाउनुको हाम्रो गोपनियता देखेर तीन छक पर्दी हो । तरुनी भईसकेकी दिदीको निर्णय प्रति किन आपत्ति जनाउनु भनेर स्वीकृति स्वरुप मुन्टो हल्लाएर सहमत हुँदी हो ।
कलेजबाट मार्कसीट लिएर आईसकेपछि आफु सुत्ने पलङ्गमा फ्यात्त फाल्दै मिठाईको झोला लिएर भाष्करको आमाको कोठामा पसेँ । मैले भाष्करको आमालाई भन्नु थियो आज । आमा अहिले पनि तपाईकी छोरी अस्मिताले एम. ए. को परिक्षा पनि प्रथम श्रेणीमा उत्तिर्ण गरी । यस खुसियालीमा मेरो आमाको मुख मिठो बनाउन भनेर बजार बाट मिठाई लिएर आएकी छु । आँऽऽऽऽ गर्नु त आमा भनेर आमाको मुखमा मिठाई कोचाईदिएर थपडी बजाउँदै आमालाई जिस्क्याउनेछु । मलाई भाष्करको वास्ता पनि लागेन त्यस क्षण । किनकी घरको जेठो पाको आमा हुनुभएको कारणले गर्दा यो खुसी सुन्ने पहिलो भागीदार आमालाई नै बनाउनुपर्छ । त्यसपछि बिरालोको चालमा आमाको कोठामा पसेँ । त्यहाँ मैले आमालाई देखिन । भान्छाकोठामा गएर आँखा चाहारेर नियालेँ । त्यहाँ पनि आमालाई पाउन सकिन । आमाको खाटमा नित्यरुपमा आमाले लगाउने साडी व्लाउज हरु असरल्ल अवस्थामा फालिएको पाएँ । मैले सहजै अड्कल काटेँकी आमा आज घरमा हुनुहुन्न । म खल्लो मन लिएर भाष्करको कोठा तर्फ लागेँ । भाष्करको कोठामा चर्को आवाजमा टि.भी. बजिरहेको थियो । उसले नदेख्ने गरी उसको कोठामा प्रवेश गरेर आँखा छोपीदिँदै भन्नेछु । थाहा छ भाष्कर, तिम्री अस्मिताले एम.ए. को परिक्षा पनि प्रथम श्रेणीमा उत्तिर्ण गरी । मैले तिमीलाई लामो घडिसम्म प्रेम परागमा प्रतिक्षित गराएर शिक्षार्जन गर्ने लक्ष्य पुरा गरेकी छु । अब तिमी र म बीच भएको बाचा पुरा गर्ने जिम्मा तिम्रो हो । आउ, यो खुसियालीमा लड्डु खाएर मुख मिठो बनाऊ भन्दै उसको मुखमा मेरै हातले मिठाई खुवाईदिनेछु र एकाकारको लागि बाहु फैलाएर प्रणयता दर्शाउनेछु । आऊ भाष्कर, हामी दुवै यस निरभ्र बन्द कोठामा बर्षौँ देखिको प्रतिक्षित बाचालाई तोडेर एकाकार भएर उद्धिग्नताको धज्जी उडाईदिऊँ । यसै यसै भन्दै मेरो शरीरको सम्पूर्ण भार ऊ माथि घोप्ट्याईदिनेछु । उसको कोठामा प्रवेश गर्नु अघि ढोकाको प्वालबाट उसलाई चियाएँ । उसको कोठाभित्र मैले जुन आपत्तिजनक भयावह दृश्य देख्न पुगेँ , त्यो दृश्यले मलाई  नराम्रो संग रन्थनायो । बर्षौँ बाट उ प्रति पालेको माया बिश्वाश र कसम छिन भरमा नै खरानी भयो ।  बन्द कोठाको त्यस अत्यासलाग्दो दृश्यले मेरो योजना र सोचले कायापलट खायो । कोठा भित्रको पाण्डवलीला हेर्ने म मा साहसिकता नै रहेन । निरभ्रकालिन मध्यरातमा टहटह चम्किएको चन्द्रमाको कोखमा देखिएको कालो टाटो जस्तो लाग्यो भाष्करको मन र मायाहरु । आज सम्म मैले भाष्कर प्रति बिश्वाश पालिरहेकी रहेछु भने भाष्करले म संग गरेको बचनबद्धतालाई भुसुक्क बिर्सिएर,विश्वाशको अन्धतामा मलाई लपेटिदिएर उसले एक कुमारी केटीको अङ्गिका नङ्गयउँदै त्यो केटीको अस्मिता धरधरी च्यातेर भकाभक चरम यौनसुख पान गरीरहेको थियो । मेरो मानसपटलमा त्यो दृश्यले भयानक कम्प ल्यायो । यौनक्रिडामा निमग्न ति यौन पिपासु माथि बिद्रोह गर्नु भन्दा पनि प्रतिशोध साध्ने कुत्सितताले गँज्याईंरह्यो । किनकी भाष्करले निस्लोट हुँदै त्यस केटी माथि आप्mनो बैँस खन्याईरहेको थियो भने तिर्सनाको अजीर्ण बैँस पस्किदिएर एउटी सुकन्या नारी पात्रले भाष्करलाई तृप्तताको चरमतामा पुर्याईरहेकी थिई । त्यो नारीपात्र माथि रीस साँध्नु मेरो कुनै औचित्य रहन्थेन । किनकी भाष्कर र म बीचको अन्तरंग प्रेम सम्बन्धको बारेमा उ पुर्णतया अनभिज्ञ थिई । मेरो मुटु भित्र भाष्कर प्रति रहेको माया, विश्वाश र सद्भाव एकाएक गधाको सिंग झैँ बिलुप्त हुन पुग्यो । त्यस दृश्यबाट आँखा हटाएर किचेनमा गएर छामछाम छुमछुम गरेँ । भित्तामा झुण्ड्याएर राखेको मासु काट्ने दाउ हातमा लिएर तेज बिजुलीको गतिमा सरासर भाष्करको कोठामा गएँ । म भित्रको मानवतत्व तत्क्षण लोप भएर उसलाई मार्न भनेर मानसिक रुपमा नै तयार भएर अगाडि बढ्दै गएँ । मैले भाष्करलाई मार्नै पर्छ । उ बाट मलाई ठूलो धोका भएको छ । मेरो मुटु ढक्क फूलेर आयो, टिमिक्क पारेर बाँधेको कपालको चूल्ठो सर्लक्क खोलेर चण्डी रुप धारण गरेर सम्पूर्ण बल निकालेर भाष्करको कोठाको ढोकामा लात्तीले जोडले बजारेँ । भित्र पट्टिबाट लगाएको छेस्किनीले मेरो प्रहार प्रति निरीहिता देखाउँदै फङ्गलङ्ग खुलेर आफ्नो गति छोडिदियो । घोप्टो परिरहेको भाष्करलाई आत्मरक्षा गर्नेै अवसर पनि नदिईकन मासु काट्ने दाऊले छपाछप छप्काईरहेँ । टाउको,ढाड,घाँटी यत्रतत्र छ्याक्कछ्याक्क पारीरहेँ । उसको शरीरले थिचिएर बसिरहेकी व्यभिचारिणी नारीपात्र निमेषभरमै जुरुक्क उठेर अनुहारमा लत्पतिएको रगत पुछ्दै भित्तामा अडेसिएर म संग जीवनरक्षाको भिख माग्दै रोईरही । यति बेलासम्म भाष्करको छट्पटाहट शान्त भैसकेको थियो । अर्थात् उसको प्राणपखेरु उडेर जहाँ गएर बस्छ भन्ने आम आस्था पालिन्छ त्यहिँ गईसकेको थियो । भुईंमा लत्रिएको भाष्करको लाशलाई नाघेर भित्तामा अडेसिएको नारीपात्र तिर पाइला बढाउँदै गएँ । मलाई नमार्नु प्लीज, म बाँच्न चाहन्छु भन्दै त्यो नारीपात्र अघोरताका साथ रुँदै थुचुक्क बसेर मेरो खुट्टा समाउँदै त्वं शरणम् भईदिई । हातमा भएको हतियारलाई भुईंमा फाल्दै त्यस नारीपात्रलाई गम्लंग अंगालो मारेर म बेस्सरी रोईरहेँ । त्यो नारीपात्रलाई पनि त्यहि हतियारको एकै प्रहारमा भाष्करको प्राणपखेरु संगै उतै पुर्याईदिने कुत्सित साहसिकता त नपलाएको कहाँ हो र ,तर मैले उसलाई त्यसो गर्न सकिन । किनकी भाष्करको रतिरागी पात्र बन्ने नारी अरु कोहि नभएर मेरी बहिनी आयूषा नै थिई ।

Other Articles
यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन्...........

मेरा जीवनका हरेक पलहरु रसविहिन संगीन शैलीबाट गुजारेका यथार्थताले आज मलाई एकान्तमा भक्कानो छोडेर रोऊँ रोऊँ बनाईरहन्छ........

भित्तामा टसाँएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले ........

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा..........

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate